प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक


काठमाडौं, ६ फागुन । बाँकेमा दुईवटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ ।

पछिल्लो समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए ।

उनका अनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका १६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा २१० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

यसैगरी भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय, म्याद सकिन लागेका २ सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए ।

ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिण्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको अधिवक्ता विश्वजित तिवारीले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार