पर्सा, ४ फागुन । पर्सा प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–८ बस्ने १९ वर्षीय राजु मन्सुरी, लालबन्दी–७ बस्ने २० वर्षीय राजु राना मगर, १९ वर्षीय विशाल मोक्तान र धादिङको गजुरी नगरपालिका–२ बस्ने २० वर्षीय अजय तामाङ रहेका छन् ।
प्रहरीले बुधबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिका–१६ मा रहेको डाँफे होटलबाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको प्रहरीको दावी छ ।
उनीहरुलाई प्लाष्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध डाइजेपाम, नुरफिन, फेनारगन ५०/५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



