काठमाडौं, ४ फागुन । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
वीरेन्द्रनगरको सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको बताएका हुन् ।
अहिलेको समीकरण बदल्न खोजेको नभइ यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको उनले बताए ।
प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उनले बताए । सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए ।



