जनकपुरधाम, ४ फागुन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ इच्छापुरका हरिचन पण्डितको केही दिन अगाडी नागरिकताको प्रमाण हरायो । मोटरसाइकल नामसारीका लागि गाउँबाट जनकपुरधाम आईरहेका ५६ वर्षिय पण्डितको खल्तीबाट नागरिकताको प्रमाणपत्र झरेको थियो । बिना नागरिकता नामसारी हुने नभएपछि नागरिकताको प्रतिलिपिका लागि पण्डित वडा कार्यालय पुगे ।
तर नागरिकताको प्रतिलिपि निकाल्नका लागि गएका पण्डितको सिफारिशपत्रमा वडाध्यक्ष आफैले हस्ताक्षर गरेर केरमेट गरेको पाइएको छ। पण्डित करिब १० दिन अगाड़ी नागरिकताको प्रतिलिपि निकाल्नका लागि सिफारिश गराउन वडा कार्यालय पुगेका थिए । तर त्यहाँ पुगेपछि क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९का वड़ाअध्यक्ष अवधकिशोर यादवले आफ्नो भाइसंग लिएको रुपैयाँ नफर्काएसम्म सिफारिश नगर्ने जवाफ दिएको पीडि़त पण्डितले बताए ।
‘नागरिकताको प्रतिलिपि सिफारिशका लागि वडा कार्यालय पुगे तर त्यहाँ वडाध्यक्ष हुनुहुन्थेन ।’ पण्डितले भने ’ पछि त्यहाँका कार्यालय सहयोगीले अध्यक्ष ज्यूँलाई फोन गरेर बताएपछि चिया पसलमा पठाई दिन भन्नुभयो त्यहाँ गएर पत्र दिंदा हस्ताक्षर त गर्नुभयो तर सिफारिशपत्र मेरो हाथमा दिनुभएन आफ्नै गोजीमा राख्नुभयो, म र मेरो श्रीमतिले पटक पटक हारगुहार लगाउँदा ऊक्त पत्र निकालेर हस्ताक्षर गरेको कागजात ऊपर नै रातो कलमले केरमेट गरेर हाम्रो अगाड़ी फालिदिनुभयो ।’
पण्डितका अनुसार केही वर्ष अगाडी वडाध्यक्षका भाई योगी यादवसंग ३ रुपैयाँको ब्याजमा ६० हजार रुपैयाँ ऋण लिएको थिएँ । ऋण लिएको ६ महिना भित्रै २२ हजार रुपैयाँ बुझाई दिएँ, पण्डितले भने ‘पछि मेरो बटुवाबाटै १ लाख ७० हजार रुपैयाँ छिनि लियो ।’ तर वडाध्यक्षले तै पनि पैस नबुझाएसम्म सिफारिश नगरिदिने भन्दै धम्की दिदै आईरहेको पण्डितले आरोप लगाए ।
यता वड़ाध्यक्ष यादवले भने सिफारिश लिन आउँदा आफुलाई गालीगलौज गरेकाले आफुले हस्ताक्षर गरेको कागजात केरमेट गरेको प्रतिक्रिया दिएका छन् । वडाध्यक्ष यादवले सेवाग्राही पण्डितले आफुसँग माफी नमागेसम्म सिफारिश नगर्ने समेत बताए ।



