जनकपुरधाम, ३ फागुन । मधेस प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।
बुधबार बसेको मधेस प्रदेशको पहिलो अधिवेशनको छैठौं बैठकबाट सभामुख रामचन्द्र मण्डलले १२ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेका हुन् ।
प्रदेश सभा सञ्चालन नियमावली २०७५ को नियम १३ बमोजिम प्रदेश सभामा पेश हुने विषयको प्राथमिकता, समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न र सभामुखलाई आवश्यक परे परामर्शका लागि कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो ।
समितिमा नेकपा एमालेका लखन दास तत्मा र हरिनारायण महतो, नेपाली कांग्रेसका कुमरकान्त झा र जिवछी कुमारी यादव, जनता समाजवादी पार्टीका रामअशिष यादव, जनमत पार्टीका चन्दन कुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीकी रानी कुमारी तिवारी, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोइत यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कञ्चन विच्छा, नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीकी उर्मीला देवी सिंहलाई दलीय सहमति अनुसार मनोनय गरिएको संसद सचिवालयले जनाएको छ ।
१३ सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा नेकपा माओवादी केन्द्रबाट सांसदको नाम आउन बाँकी रहेको बताइएको छ ।


