जनकपुरधाम, ३ फागुन । क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएको दिलीप महतोलाई मनसाय पूर्वक हत्या गरिएको जिल्ला अदालत धनुषाले ठहर गरेको छ ।
महतोलाई विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।
जिल्ला अदालत धनुषाका न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले दिलिपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा ठहर गरेको हो ।
दिलिपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई सफाई दिइएको श्रेस्तेदार विकास वस्नेतले जानकारी दिए ।
यद्यपि जिल्ला अदालत धनुषाले सजाय अहिले तय गरेको छैन । दोषी ठहर गरिएकाहरुलाई कति सजाय दिइने विषयमा न्यायधिश गुरुङले आगामी फागुन १२ गते निर्धारण गर्नेछन् ।
मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलिपको २०७६ पुस २५ गते हत्या गरिएको थियो ।



