काठमाडौं, ३ फागुन । मोबाइल व्यवसायीहरुले सरकारसँग क्षतिपूर्ति माग गरेका छन् ।
उनीहरुले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका हुन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ । ‘दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाउँ ? यहाँबाट उचित क्षतिपूर्ति र व्यवसाय पुनः निर्धक्क सञ्चालन गर्नसक्ने अवस्थाको प्रत्याभूतिको लागि सविनय अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
अमूर्त आश्वासन भन्दा पनि ठोस प्रतिबद्धता चाहिएको भन्दै व्यवसायीहरुले अन्यथा देशैभरबाट व्यवसायीहरुको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले एक समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने र उचित क्षतिपूर्ति दिलाउने आश्वासन दिएको संस्थाका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।



