काठमाडौं, ३ फागुन । प्रहरीले घरेलु हिंसाबाट पीडित बिनु यादवलाई संघीय संसद् भवन अगाडिबाट पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
बिनुले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।
पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । यसअघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।
प्रहरीले जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादवलाई पनि पक्राउ गरेको छ ।


