सर्लाही, ३ फागुन । विगत लामो समयदेखि तलब नपाएपछि सर्लाहीको कविलासी नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षकहरु विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । तलब नपाएसम्म अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षक महासंघका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।
मंगलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये ७ मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल २३० शिक्षक, ७ विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।
यता, नगर उपप्रमुख पुनम कर्णले शिक्षकहरुको समस्या समाधान चाँडै गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ ।
कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् ।


