जनकपुरधाम, ३ फागुन । मधेस प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले शिक्षा विकास निर्देशनालय जनकपुरधाममा छड्के जाँच गरेका छन् । उनले बुधबार बिहान १० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन् ।
कर्मचारीहरु आफू अनुकूल मनोमानी रुपमा कार्यालय पुग्ने गरेको गुनासो बढेपछि मन्त्री यादवले जनकपुरधामस्थित शिक्षा विकास निर्देशनालयमा छडके जाँच गरेका छन् ।
प्रदेशका सरकारी कार्यालयहरुमा कर्मचारी समयमा नपुग्ने गरेको गुनासो बढेपछि आफूले निर्देशनालयमा छडके जाँच गरेको मन्त्री यादवले बताए ।
‘बिहान १० बजेसम्म कार्यालयमा कर्मचारीहरुलाई पुग्नुपर्ने भएपनि मैले छडके जाँच गर्दा कर्मचारीहरु १० बजेर ३० मिनेट सम्ममा पनि कार्यालय पुगेका थिएनन्,’ उनले भने, ‘कार्यालय प्रमुख चुडामणि फुयाल बिदा लिएर काठमाडौं गएपनि निर्देशनालयमा कार्यालय सहयोगीबाहेक समयमा कुनै पनि कर्मचारी उपस्थित देखिएका थिएनन् ।’
आफूले हाजिरी रजिष्टर चेकजाँच गर्दा कतिपय कर्मचारीले सोमबार देखि नै हाजिरी नगरेको पाइएको मन्त्री यादवले बताए ।
उनले भने, ‘सरकारी कार्यालयहरुमा प्रमुख नै कार्यालय समयमा उपस्थित नहुँदा अन्य कर्मचारीहरुको मनोमानी बढदै गएको छ । मन्त्रालयमा समेत सचिवहरु समयमा नआउँदा अन्य कर्मचारीहरुको पनि मनोमानी बढदै गएको हो ।’
‘प्रदेशको राजधानी शहरभित्रको कार्यालयहरुको अवस्था यस्तो छ भने ग्रामिण क्षेत्रका सरकारी कार्यालयहरुमा कस्तो दुःखद अवस्था होला,’ उनले भने, ‘छडके जाँचपश्चात मैले मुख्यमन्त्रीलाई पनि जानकारी गराएको छु । वहाँले यसप्रति सकारात्मक भई थप कडा कदम चाल्ने बताउनु भएको छ ।’
शिक्षा विकास निर्देशनालयमा १० जना कर्मचारी कार्यरत रहेका छन् । ति १० मध्ये अधिकांश करारका कर्मचारीहरु छन् ।
मुख्यमन्त्रीको दाबी बोलीमै सिमित
मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारका काम बुलेट ट्रेनभन्दा पनि बढी स्पिडमा हुने दाबी गरिरहँदा प्रदेशको राजधानी शहर भित्रका सरकारी कार्यालयहरुको अवस्था भने दुःखद देखिएको छ ।
मुख्यमन्त्री यादवले गत शनिबार प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश सरकारका काम बुलेट ट्रेनभन्दा पनि बढी स्पिडमा गरिने दाबी गरेका थिए । तर, उनको यो दाबी भने बोलीमै सिमित देखिएको छ ।
मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो उद्देश्य रहेकोसमेत बताएका थिए । उनले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफ्नो प्रमुख प्राथमिकतामा रहेको र यी चारवटा क्षेत्रमा दिनरात काम गर्ने प्रतिबद्धता जनाएका थिए ।



