यातायात मजदुरहरूको आन्दोलन स्थगित


काठमाडौं, २ फागुन । यातायात मजदुर र व्यवसायीयले आन्दोलन स्थगित गरेका छन् ।

मंगलबार बिहान सिंहदरबारमा भएको सरकारसँगको वार्तामा उपत्यकामा गरिएको यातायात बन्द स्थगित गर्ने सहमति भएको हो ।

यद्यपि यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी राख्ने बताएका छन् । वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले बन्दहड्ताल तत्काल फिर्ता लिइदिन आग्रह गरेका थिए । ‘समस्या समाधान गर्न सरकारले कार्यक्रम बनाइसक्यो । नेतृत्व जतिखेरै छलफल गर्न तयार छ । तपाईंहरूले अहिले नै हड्ताल फिर्ता लिइदिनुस्,’ मन्त्री श्रेष्ठले आग्रह गरे ।

छलफलमा यातायात मजदुरहरूले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए ।

आफूहरूले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक–पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थियो ।

नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले हड्ताल स्थगित गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार