कर्मचारीमाथि कुटपिट भएको घटनाप्रति युनियनद्वारा भर्त्सना, चरणवद्ध आन्दोलन गर्ने चेतावनी


जनकपुरधाम, २ फागुन । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको घटनाप्रति नेपाल निजामति कर्मचारी युनियनले भर्त्सना गरेको छ ।

नेपाल निजामति कर्मचारी युनियनले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गत माघ २५ गते मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीद्वय अधिकृत छैठौं श्रवण कुमार यादव र आन्तरिक लेखा परीक्षक सहायक पाँचौ नविन कुमार साहमाथि सोही गाउँपालिकाका अध्यक्ष जयकुमार यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार दास लगायत उनको आसेपासे समेतको समूहले कुटपिट र गाली बेइज्जती समेत गरेको आरोप लगाइएको छ ।

नेपाल निजामति कर्मचारी युनियनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घटनाप्रति यस निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाको गम्भीर ध्यानाकर्षण भएको छ । युनियन परिवार घोर भर्त्सना गरि घटनाप्रति खेद प्रकट गर्दछौं ।’

‘राष्ट्रसेवामा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारीमाथि गरिएको भौतिक एवं मानसिक आक्रमण समग्र राष्ट्रसेवक कर्मचारीमाथि कै प्रहार हो भन्ने हाम्रो ठहर रहेको छ, ‘यस किसिमको अमानवीय कार्यमा संलग्न दोषिमाथि कडा भन्दा कडा कारवाहीका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।’

युनियनले दोषीमाथि उचित कारवाही तथा पिडीतले न्याय नपाए नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाले चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको युनियनका उपाध्यक्ष चन्द्र नारायण मण्डल र सचिव प्रकाश कुमार कर्णद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार