एजेन्सी, १ फागुन । प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ ।
प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।
सेनाले नाब्लुसको आक्रमणबारे तत्काल थप टिप्पणी गरेको छैन । तर गाजामा उसले ‘हमास आतङ्कवादी सङ्गठनसँग सम्बन्धित रकेट निर्माणमा प्रयोग हुने कच्चा पदार्थ भएको भूमिगत भवनमा आक्रमण गरेको’ बताएको छ ।
गाजाबाट इजरायलतर्फ शनिबार गरिएको रकेट प्रक्षेपणको प्रतिक्रियास्वरूप उक्त आक्रमण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायली आक्रमणपछि गाजाको सीमा नजिकका समुदायमा हवाई आक्रमणको साइरन बज्न थालेको सेनाले जनाएको छ ।
पछिल्लो चरणको क्षेप्यास्त्र आक्रमणपछि गाजा र इजरायलमा कुनै हताहत भएको खबर प्राप्त भएको छैन । तर इजरायल–प्यालेस्टिनी द्वन्द्वले हिंसामा नाटकीय वृद्धि भोगिरहेको छ ।



