संविधानलाई अझ उत्कृष्ट बनाउन सकिन्छ : उपराष्ट्रपति पुन


जनकपुरधाम, १ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले वृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि दुईवटा काम अझै बाँकी रहेको बताएका छन् ।

सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालय मातहतको मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको २८औँ जनयुद्ध दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपराष्ट्रपति पुनले शान्ति सम्झौताको मुख्य दुईटा काम अझै बाँकी रहेको बताएका हुन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमार्फत गर्नुपर्ने काम सम्पन्न नभएको उनले बताए । आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याउन उनले आग्रह गरे ।

उनले भने, ‘वर्तमान सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई छिटो भन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

उपराष्ट्रपति पुनले संविधानको पूर्ण कार्यान्वयनका लागि अझै मिहिनेत गर्नुपर्ने आवश्यक रहेको बताए । ‘संविधान एउटा सहमतिको दस्तावेज हो’ पुनले भने, ‘संविधान गतिशील दस्तावेज रहेकाले यसलाई समय र सन्दर्भ अनुसार अझै उत्कृष्ट बनाउन सकिन्छ ।’

उनले संविधानलाई अग्रगामी भनिरहँदा यसलाई थप समृद्ध बनाउन र पूर्ण कार्यान्वयनका लागि अहिले धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विभिन्न आन्दोलनको कारणले प्राप्त भएको उपलब्धिहरूको रक्षा गर्दै संघीयतालाई बलियो बनाउन आवश्यक भएकोसमेत उनले बताए ।उनले माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारु तथा जनजातिको आन्दोलनको बलमा प्राप्त संघीयतालाई बलियो बनाउनका लागि जनताको भावना अनुसारको शासन व्यवस्था अगाडी बढाउन आवश्यक भएको जिकिर गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा विकासको गतिविधि बढाउनका लागि प्रहरी समायोजन तथा संघीय निजामती ऐन चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

उनले संघीयतामाथि हुने कुनै प्रकारको षड्यन्त्रलाई आफूहरूले स्वीकार नगर्नेसमेत बताए । उनले नागरिकता समस्याको समाधान छिटो भन्दा छिटो गर्न संघ सरकारसँग माग गरे । नागरिकता समस्याकै कारण कयौं नेपाली युवाहरुको भविष्य अन्यौलमा रहेकाले यसलाई गम्भिरतापूर्वक लिन उनले आग्रहसमेत गरे ।

सभामुख रामचन्द्र मण्डलले जनयुद्ध तथा विभिन्न आन्दोलनको मर्म अनुसार अहिलेको शासन व्यवस्था सञ्चालन हुन नसकेको बताउँदै जनताको भावना अनुसार विकास निर्माणमा गति दिन आवश्यक भएको स्पष्ट पारे ।

त्यस्तै, गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले शहीदहरूको सपना साकार पार्नका लागि प्रदेश सरकारले सो अनुसारको काम अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार