जनकपुरधाम, १ फागुन । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० जना शहीद परिवारलाई एक/एक लाखको दरले सहयोग गरेको छ ।
मधेस प्रदेश सरकारले दोस्रो जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्धका शहीद रामवृक्ष यादवको परिवारका सदस्य सुधा यादवलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
बाँकी रहेका ५३९ जना शहीद परिवारको खातामै रकम पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
उपराष्ट्रपति पुनले जनयुद्धका शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।


