काठमाडौं, २९ माघ । चिकित्सकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेका छन् ।
सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका आफ्ना सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेका हुन् ।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।
वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।
सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।


