नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ


धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यस्तै नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । मन्त्री नियुक्त भएसँगै देउवा र शाहीले प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार