जनकपुरधाम, २७ माघ । कुमारी आमा भनेर चिनिले निहारिका राजपूत र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरूले शुक्रबार जानकी मन्दिरमा विवाह गरेका हुन् । शिवराज र निहारिकाले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।
आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् ।तर, गत १६ माघमा उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।
आफूलाई कुमारी आमा भनेर चिनाउने राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।तर, जिल्ला अदालतले शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको तथा सम्बन्धमा समयमा भएपछि शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।
धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । तर, गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।


