जनकपुरधाम, २७ माघ । जनकपुरधाम उपमहानगरपालिकामा सुविधा सम्पन्न आधुनिक पार्किङ्ग स्थल निर्माणका लागि शिलान्यास गरिएको छ ।
नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले उपमहानगरको वडा नम्बर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा ६० लाखको लागतमा निर्माण हुने पार्किङ्ग स्थलको शुक्रबार शिलान्यास गरेका हुन् ।
नगरक्षेत्रमा विद्यमान ट्राफिक समस्या समाधानका लागि उपमहानगरले पार्किङ्ग स्थल निर्माण गर्न सुरु गरेको हो ।
अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगरक्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थालाई दृष्टिगत गर्दै पार्किङ्ग स्थल निर्माण गर्न सुरु गरिएको नगरप्रमुख साहले बताए । पार्किङ्ग स्थल निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने उनले बताए ।
नगरक्षेत्रका मूख्य सडकदेखि मुख्य बजारक्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगरक्षेत्र नै कुरुप देखिन थालेको छ । उपमहानगरपालिकाले सडकपेटिमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएपनि सडकपेटि र सडक छेउ अहिले सवारीसाधनको पार्किङ्ग स्थल बनेको देखिन्छ ।
ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आए पनि पार्किङ्ग निषेधित क्षेत्रमासमेत सवारी साधनहरु निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ ।
विशेषगरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिंदै आएको देखिन्छ ।


