सुनसरी, २७ माघ । इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।
डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा.देवराज घिमिरे मौन बसेको भन्दैं उनीहरुले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका छन् ।
सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा.महेशकुमार शाह, डा.रतिकुमार यादव, डा.आशिष देव, डा.अभिषेकुमार सिंह, डा.श्रेया पंगेनी, डा.कृतिका हमाल, डा.दिपेन्द्र मेहता र डा.वीरेन्द्र मण्डल रहेका छन् । उनीहरुमध्ये ४ जना छात्रवृत्तिका र ४ जना प्रदेश सरकारले करारमा राखेका चिकित्सक हुन् ।
स्थानीय रहेका मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सक माथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरुको आरोप छ ।
अस्पतालमा उपचारमा बाधा पुर्याउने मान्छेलाई कारबाही गर्ने कानुन समेत बनेको छ । तर, डा.पंगेनीले बिरामी पक्षका मान्छेलाई समर्थन गर्दै सँगै लिएर चिया खान गएपछि चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए ।



