धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् ।
बिहीबारको प्रदेशसभामा उनले विश्वासको मत मागेका थिए । सभामुखले उनको मागलाई निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन पाउन सकेनन् ।
बहुमत सांसदको समर्थन नपाएसँगै उनी नेतृत्वको सरकार ३० दिनमै ढलेको छ । यसअघि उनी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन् गरेर मुख्यमन्त्री बनाएका थिए । अहिले सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको हो ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायत टीकापुर घटनामा थुनामा परेकाहरुको रिहाइलाई सर्तका रुपमा अघि सार्दै आएको छ ।


