जनकपुरधाममा सुविधा सम्पन्न आधुनिक पार्किङ्ग स्थल बन्ने


जनकपुरधाम, २५ माघ । जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न आधुनिक पार्किङ्ग स्थल निर्माण गर्ने भएको छ ।

नगरक्षेत्रमा विद्यमान ट्राफिक समस्या समाधानका लागि उपमहानगरले पार्किङ्ग स्थल निर्माण गर्न लागेको हो ।

नगर प्रमुख मनोज कुमार साहले उपमहानगरको वडा नम्बर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा निर्माण हुने पार्किङ्ग स्थलको शुक्रबार शिलान्यास गरिने जानकारी दिए ।

अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगरक्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थालाई दृष्टिगत गर्दै पार्किङ्ग स्थल निर्माण गर्न लागिएको उनले बताए । पार्किङ्ग स्थल निर्माण भएपछि ट्राफिक व्यवस्थापनको समस्या समाधान हुने उनले बताए ।

नगरक्षेत्रका मूख्य सडकदेखि मुख्य बजारक्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगरक्षेत्र नै कुरुप देखिन थालेको छ ।

उपमहानगरपालिकाले सडक पेटिमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ ।

ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आए पनि पार्किङ्ग निषेधित क्षेत्रमा समेत सवारी साधनहरु निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ ।

विशेषगरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिंदै आएको देखिन्छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार