काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकिर गरेका छन् ।
लोकतन्त्र संवाद केन्द्र काठमाडौंले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति भए संविधानले नदिएको शक्तिको अभ्यास हुने दाबी गरेका हुन् ।
विगतमा प्रतिनिधिसभा विघटन हुँदा र अड्किएका विधेयक तथा अध्यादेशलाई नियाल्दा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएमा ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने उनको टिप्पणी छ ।
राष्ट्रपतिलाई एमालेले आफ्नो कार्यकर्ता बनाएको आरोपसमेत लगाएका महामन्त्री थापाले अब पनि एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने जिकिर गरे ।



