मुखियापट्टीका अध्यक्ष यादवले कर्मचारी कुटेको आरोप


जनकपुरधाम, २५ माघ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले कर्मचारीमाथि हातपात गरेको आरोप लगाइएको छ ।

अध्यक्ष यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परिक्षक नविन कुमार साहमाथि हातपात गरेको आरोप लगाइएको हो ।

कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आएको आरोप लगाएका छन् ।

लेखा परिक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अघिपछि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिएको साहको आरोप छ । उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको दुःखेसो सुनाए ।

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परिक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन् । उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासोसमेत सुनाएका छन् ।

कर्मचारीको कुनै किसिमको गल्ती कमजोरी नहुँदा पनि गरिएको यस्तो आक्रमण सम्पूर्ण राष्ट्र सेवक कर्मचारीमाथिको आक्रमण भएको साहले बताए । अध्यक्ष यादवलगायतका समूहले हामीलाई विना कुनै वादविवाद एक्कासी कुटपिट गरेको उनको गुनासो छ ।

घटना सम्बन्धमा बुझ्नका लागि अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत दासको मोबाइलमा सम्पर्क गर्दा स्विच अफ गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार