माओवादीबाट मधेस सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ


जनकपुरधाम, २४ माघ । नेकपा माओवादी केन्द्रबाट मधेस प्रदेश सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका शहीद रामवृक्ष यादवकी छोरी सुनिता यादवले उद्योग, पर्यटन तथा वन मन्त्रीको रूपमा र रहबर अन्सारीले सोही मन्त्रालयको राज्यमन्त्रीको रूपमा मंगलबार दिउँसो शपथ लिएका हुन् ।

सुनिता धनुषाबाट समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को (क)बाट निर्वाचित सांसद हुन् ।

मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

२० माघमा मन्त्रिमण्डल विस्तार गर्दा मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफूसँगै राखेका थिए ।

मुख्यमन्त्री यादवले यसअघि २९ पुसमा ३ जना मन्त्री नियुक्त गर्दा २० माघमा पनि ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका थिए ।

अब मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।

केन्द्रमा जसपा र माओवादीबीच वार्ता भएपछि मधेसमा पनि अन्ततः माओवादी केन्द्र सरकारमा सहभागी भएको हो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार