जनकपुरधाम, २३ माघ ।
शहिदनगर नगरपालिकाका तत्कालिन नगरप्रमुख उदयकुमार बरबरियाले कृषि सडकको नाममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सोमबार अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
२०७४÷७५ मा तत्कालिन नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायत १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहर गरेको हो ।
आर्थिक वर्ष २०७४÷७५ मा शहिदनगर नगरपालिका वडा नं. ८स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।


