राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्न लागिएको भन्दै सिके राउतको आपत्ति


काठमाडौं, २२ माघ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘किसानले मलखाद पाइरहेका छैनन्, कालाबजारीलाई प्रहरी प्रशासन र नेपाल सरकारले नियन्त्रण गर्नुपर्छ, यो भन्दा अघि राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीमा राखिएको थियो, अहिले सुन्दैछु, कृषिमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रतिर अरु जिल्लामा सार्ने प्रयत्न गर्दै हुनुहन्छ, यस्तो प्रवृत्ति दोहोरियो भने विकास हुन सक्दैन ।’

उनले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिंदा विकास निर्माणले गति नलिने बताए । उनले सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘सरकारले मल ल्याउँदा पनि कालोबजारीका कारण किसानले समयमै मल नपाइरहेको भन्दै सरकारले कालोबजारीमा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यहाँ कुनै कुरा बोल्दा अर्थ राख्छ कि राख्दैन, हामी सुन्छौं कि भित्तालाई खालि सुनाइरहेका छौं । कुर्सीलाई सुनाइरहेका छौं । सरकार यो संसदप्रति उत्तरदायी छ, जिम्मेवार छ यो कुरामा सभामुखबाट आश्वस्त हुन चाहन्छु, काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ जस्तो भयो ।’

उनले संसदमा सांसदहरुले उठाएका कुराहरु टिपेर त्यसबारेमा के कति कामहरु भइरहेका छन् भन्नेबारेमा सरकारले संयन्त्र निर्माण गरेर जानकारी नगराउने हो भने सांसदहरुले संसदमा बोलिरहनुको अर्थ नरहेको बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार