प्रदेश सरकारको काम अब बुलेट ट्रेनभन्दा पनि बढि स्पिडमा हुन्छ : मुख्यमन्त्री यादव


जनकपुरधाम, २१ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारका काम बुलेट ट्रेनभन्दा पनि बढि स्पिडमा हुने दाबी गरेका छन् ।

शनिबार मधेस प्रदेशसभाको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘भोलि बिहान ११ बजे सबै मन्त्री र सचिवहरुको बैठक आह्वान गरेको छु । बैठकबाट एउटा ठोस निष्कर्ष निकालेर प्रदेश सरकारका काम बुलेट ट्रेनभन्दा पनि बढि स्पिडमा गरिनेछ ।’

मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो उद्देश्य रहेकोसमेत बताए । उनले आफूले भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

‘चारवटा विशेष कुरामा मैले ध्यान दिएको छु, ‘उनले भने,‘ स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन मेरो प्रमुख प्राथमिकतामा छ । यो चारवटा क्षेत्रमा हामी दिनरात काम गर्नेछौं ।’

उनले विगत वर्षका बाँकी रहेका अप्ठ्यारा कामहरुलाई पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘गत वर्षका उपभोक्ता समितिले काम गरेका भुक्तानीहरु पाएका छैनन् । दुई/तिन वर्ष अगाडिदेखि स्वच्छता अभियानका कामहरु भएका छन् । मुख्यमन्त्री कार्यालयबाट पनि धेरै टेण्डरहरु भएका थिए । ठेकेदारहरुले काम गरिसकेपनि भुक्तानी भएको छैन् । मैले सचिवहरुलाई १५ दिनभित्र यसको निकास निकालेर भुक्तानीका लागि काम अगाडि बढाउन निर्देशन दिइसकेको छु ।’

मुख्यमन्त्री यादवले पहिलो कार्यकालमा आफू सभामुख हुँदा प्रदेशसभा सदस्यहरुको सहयोगले ऐन कानुन मात्र नभई प्रदेशको नाम र राजधानी जस्तो विषय पनि सहमतिमै पारित गराएकोले यसपटक पनि सबैको सहयोग पाए राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार