गुल्मी, २१ माघ । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्मेलन गरेर अधिकारी दम्पतीलाई सार्वजनिक गरेको हो ।
माघ १२ गते भारत बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।
टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।
गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।



