सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश


काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने टिममा समावेश भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेको लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि थिए ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार