जनकपुरधाम, १९ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अहिलेसम्म सरकारी निवासमा नगई एक होटेलमा बसिरहेका छन् । मुख्यमन्त्री नियुक्त भएदेखि उनी जनकपुरधामस्थित होटेल वेलकममा बसिरहेका छन् ।
सरकारी निवासको रंगरोगन भइरहेकोले उनी अहिलेसम्म त्यहाँ नगएको बताइएको छ । मुख्यमन्त्री निवासमा पूजापाठ गराएर गृहप्रवेश गर्ने उनले बताएका छन् ।
पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री यादवले २९ गते दुईजना विनाविभागीग मन्त्रीसहित शपथ ग्रहण गरेका थिए । त्यसयता मन्त्रिपरिषद्लाई पूर्णतासमेत दिन नसकेका उनले हालसम्म आफ्नो सचिवालय र सहयोगी टीम पनि बनाउन सकेका छैनन् । मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव, स्वकीय सचिवहरू, प्रेस संयोजकका साथै विषयगत सल्लाहकारहरू नियुक्त गर्ने व्यवस्था छ तर मुख्यमन्त्री यादवले कुनै पदमा कसैलाई पनि नियुक्त गरेका छैनन् ।
मुख्यमन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल गठन भएको दुई हप्ता बढी बितिसक्दा पनि उनीहरू सबैजना अहिलेसम्म सम्मान र बधाई ग्रहण गर्नमै व्यस्त देखिएका छन् ।

अन्य मन्त्रीहरू सरकारी निवासमा गइसक्दा मुख्यमन्त्री यादव भने अहिलेसम्म जनकपुरधामस्थित एक होटेलमा बसिरहेका छन् । उता, मन्त्रीहरूलाई भेटेर बधाई दिनेहरूको भीडले मन्त्रालय र उनीहरूको निवास खचाखच भरेको देखिन्छ ।
नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलबीचको आपसी असमन्जस्यताका कारण त्यसको असर प्रदेशमा पनि परेको हुनसक्ने बताउँछन् ।
‘प्रदेश सरकार कुहिरोको कागमा हराएझै भएको छ, सरकारले काम गर्नु त परै जाओस्, केही आशा जगाउने सामान्य निर्णयसमेत गर्न सकेको छैन,’ उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरूले महत्त्वपूर्ण समय खेर फालिरहेका छन् ।’
केन्द्रको राजनीतिको प्रभाव, राष्ट्रपति निर्वाचनका बेला निम्तिन सक्ने सम्भावित समीकरणले गर्दा प्रदेशस्तरमा केही प्रभाव परेको हुनसक्ने उनको भनाइ छ ।
४ माघमा बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका थिए । यादवले प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे ।

१० दलमध्ये ७ दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।
मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउनेमै स्पष्ट सहमति जुट्न नसक्दा पूर्णता दिन नसकिएको दलहरूले बताइरहेका छन् । मुख्यमन्त्री यादवले तत्काल सरकार विस्तार गर्ने बताए पनि गठबन्धनमा कुरा नमिल्दा सरकार विस्तारको काम पर धकेलिएको हो । उनले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार हुने अनुमान गरिए पनि अहिलेसम्म विस्तार हुन सकेको छैन ।
बिजनेश कुर्दै प्रदेशसभा
सत्तारुढ दलले प्राथमिकता निर्धारण गर्न नसक्दा प्रदेश सभाले पनि गति लिन सकेका छैनन् । मन्त्रिपरिषद् गठन भएको २० दिन बितिसक्दा समेत प्रदेश सभा सञ्चालनको गति सुस्त छ ।
प्रदेश सरकार मात्र नभई मधेस प्रदेश सभा पनि बिजनेशको पर्खाइमा छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेश दिन सकेको छैन । प्रदेश सभामा संसदीय समिति गठनको गृहकार्य पनि थालिएको छैन ।
संसदीय बोर्डमा दलहरूले प्रमुख सचेतक, सचेतक लगायतका आवश्यक पदाधिकारी नियुक्त गर्नतर्फ चासो दिएका छैनन् ।
सभामुख/उपसभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिएपछि संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेशसभा बैठक बोलाउने, प्रदेश सभालाई बिजनेश दिने कुरा सरकारकै हातमा रहेको बताएका छन् ।


