रौतहट, १९ माघ । रौतहटमा प्रहरीमाथि चाकु प्रहार भएको छ ।
फरार अभियुक्तलाई पक्राउ गर्न गएको बेला प्रहरी सहायक हवल्दार सुरेश यादवमाथि चाकु प्रहार भएको हो । उनी घाइते भएका छन् ।
जिल्लाको गौर नगरपालिका–२ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको सूचना प्रहरी समक्ष पुगेपछि जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो ।
सोही क्रममा गौर नगरपालिका–५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र वडा नम्बर–४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चाकु प्रहार गरेका थिए ।
प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुललाई पक्राउ गरेको थियो । उनको साथबाट चाकु र कैची समेत बरामद भएको छ ।
घटनापछि भागेका रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



