काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका हुन् ।
आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो ।
त्यससँगै उनी उपप्रधान एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेपछि रास्वपाले फेरि गृह मन्त्रालयमै दाबी गरिरहेको छ ।


