जनकपुरधाम, १९ माघ । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बिहीबार भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको छ ।
बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको देवशिला बिहीबार श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको हो ।
अयोध्यामा निर्माणाधीन राममन्दिरमा भगवान् रामको मूर्ति बनाउन कालीगण्डकी नदीबाट उत्खनन गरिएको उक्त देवशिला अयोध्या पुर्याइएपछि विशेष समारोहकाबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
शिलालाई बुधबार राम सेवकपुरममा राखिएर बिहीबार बिहान ट्रस्टका महासचिव रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गरिएको बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टलाई औपचारिकरुपमा देवशिला हस्तान्तरण गरिएको जानकारी दिए ।
७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाईका २ विशाल देवशिला अयोध्या पुर्याइएको हो ।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेकामा दुई दिनपछि त्यहाँ पुगेको हो ।
अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर त्यहाँ पुगेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरिएको थियो ।
ठूलो संख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक देवशिलालाई भित्र्याएका थिए ।


