जिल्ला प्रशासनबाट सेवाग्राहीले पाउने सबै सेवा सरल बनाउँछु : प्रजिअ दाहाल


जनकपुरधाम, १८ माघ । धनुषामा नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले पाउने सम्पूर्ण सेवासुविधालाई सरल बनाइने बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता, राहदानी राष्ट्रिय परिचय पत्रलगायतका काममा सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवाप्रवाह गर्ने बताएका हुन् ।

दाहालले मिटरब्याजीसम्बन्धी जिल्लामा ११० वटा समस्या समाधान गरिसकेको बताउँदै राज्यले आफूलाई दिएको जिम्मेवारी सक्रियताका साथ इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

धार्मिक नगरीको रुपमा विश्वमै परिचित एउटा छुट्टै इतिहास बोकेको ठाउँ जनकपुरधाममा आफूले सेवाको मौका पाउँदा निकै गौरवान्वित महसुस भएको उनले सुनाए ।

उनले जनतालाई सहज रुपमा सेवाप्रवाह गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत रहनेसमेत बताएका छन् । प्रजिअ दाहालले सबभन्दा पहिले आफू कार्यरत अड्डालाई सेवाग्राहीमैत्री बनाउन भरपूर पहल गर्ने बताए । उनले सेवाग्राहीको काम नै आफ्नो पहिलो प्राथमिकता र प्रमुख दायित्व हुने बताए ।

सरकारी कार्यालयहरुमा अभिलेख व्यवस्थापन कमजोर भएकोले नागरिकले समयमा सेवा पाउन नसकिरहेको भन्दै उनले यसतर्फ आफ्नो बढि ध्यान केन्द्रीत हुने सुनाए ।

प्रजिअ दाहालले आफूले तीनै तहका सरकारबीच सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा विकासको काममा गति दिने बताएका छन् ।

जनकपुरधाम मधेस प्रदेशको राजधानीसमेत भएकाले यस ठाउँको सरसफाइ, सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकासहित सरोकारवाला निकायसँग सहकार्य गर्ने उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार