यू–१९ टोलीको कप्तानी गुल्सन झाले गर्ने


काठमाडौं, १८ माघ । आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली टोलीको कप्तानी गुल्सन झाले गर्ने भएका छन् ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले यू–१९ टिमको कप्तानमा अलराउन्डर झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि यू–१९ टोलीको कप्तानी गरिसकेका ब्याटर देव खनाललाई पछि पार्दै गुल्शनले सो जिम्मेवारी पाएका हुन् । क्यानको छनोट समितिले कप्तानका लागि देव र गुल्सनको नाम पठाएको थियो । जसमध्ये गुल्शनलाई बोर्ड बैठकले कप्तानीमा नियुक्त गरेको हो ।

उनले पहिलोपटक नेपालको लागि कप्तानी गर्न लागेका हुन् । गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा यूएईविरुद्धको एकदिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले हालसम्म ९ एकदिवसीय र एक टी–२० म्याच खेलेका छन् । त्यस्तै, उपकप्तानको जिम्मेवारी दीपेश कँडेलले पाएका छन् ।

नेपालले विश्वकप एसिया छनोटमा पहिलो खेल १२ फागुनमा सिंगापुरविरुद्ध खेल्ने तालिका छ । दोस्रो खेलमा नेपालको भेट १३ फागुनमा कुवतेविरुद्ध हुनेछ । नेपालले तेस्रो खेल १५ फागुनमा हङकङविरुद्ध खेल्नेछ ।

चौथो खेलमा नेपालले १६ फागुनमा मलेसियाको सामना गर्ने तालिका छ । अन्तिम तथा पाँचौं खेलमा १८ फागुनमा आयोजक यूएईविरुद्ध खेल्नेछ । तालिकाको शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार