जनकपुरधाम, १८ माघ ।
धनुषाको इलाका प्रहरी महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थनुवाहरुमध्ये ३ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । फरार थुनुवाहरुमध्ये पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका वडा नम्बर २का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका वडा नम्बर ६ का रोशनकुमार महतो रहेका छन् ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।
गत सोमबार इलाका प्रहरी कार्याललय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । जसमध्ये ३ जनालाई प्रहरीले पक्राउ गरि सकेको छ भने बाँकी ३ जनाको खोजै भईरहेको प्रहरीले जनाएको छ ।


