काठमाडौं, १७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो भएको भेटघाटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराएका हुन् ।
मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा पनि छलफल गरेका थिए ।
उनीहरूबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमासमेत छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
उनले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि राजदूत सोङसँग आग्रह गरे ।
भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए ।


