थुनुवा फरार घटना : ३ जना प्रहरी कर्मचारी निलम्बित, नयाँ इन्सपेक्टरलाई जिम्मेवारी दिइने


जनकपुरधाम, १७ माघ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट फरार भएका थुनुवा घटनामा ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले हिरासत कक्ष अधिकृतसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।

निलम्बित हुनेहरुमा ईप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

उनले घटनाको छानविन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा छानविन समितिसमेत गठन गरिएको जानकारी दिए ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारी नयाँ इन्सपेक्टरलाई छिट्टै दिइने प्रवक्ता क्षेत्रीले बताए ।

उनले भने, ‘इन्सपेक्टर बेचन यादवलाई जिम्मेवारीबाट मुक्त गरिएको छैन । नयाँ इन्सपेक्टर आएलगत्तै उनलाई जिम्मेवारीबाट मुक्त गरिने वा निलम्बन गरिने विषयमा निर्णय लिइनेछ ।’

आइतबार राति इप्रका महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर ६ जना थुनुवा फरार भएका थिए । फरार भएकामध्ये मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशन महतोलाई सोमबार साँझ ६ बजे पुनः पक्राउ गरेको थियो ।

पक्राउ परेका रोशनमाथी हातहतियार तथा खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित प्रहरीले गत शनिबार पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

फरार अन्य ५ जना क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने लागूऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय अमित मण्डल, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२ बस्ने अभद्र व्यवहार मुद्दाका २५ वर्षीय हरिदीप सिंह र मिथिला नगरपालिका–६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंहको खोजी तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार